दसैँ–तिहारमा यात्रुको चाप बढ्ने भन्दै सडक तथा यातायात व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन

463 Shares

काठमाडौं । दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै सडक तथा सार्वजनिक यातायात व्यवस्थापन प्रभावकारी बनाउन पूर्वाधार विकास समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

चाडपर्वका समयमा ठूलो संख्यामा नागरिक राजधानीलगायत सहरी क्षेत्रबाट गाउँघर फर्किने भएकाले सडकमा सवारीसाधनको चाप बढ्ने तथा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने भन्दै समितिले आवश्यक तयारी समयमै गर्न निर्देशन दिएको हो ।

समितिले सडकको अवस्था सुधार, बिग्रिएका तथा जोखिमयुक्त सडकखण्ड मर्मत, सडक अवरोध तत्काल हटाउने व्यवस्था तथा यात्रुको आवतजावत सहज बनाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न भनेको छ ।

त्यस्तै, सार्वजनिक यातायातका साधनको नियमित अनुगमन, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा तोकिएकोभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न पनि समितिले जोड दिएको छ । चाडपर्वका बेला यात्रुको चापलाई ध्यानमा राख्दै पर्याप्त सवारीसाधन सञ्चालनको व्यवस्था गर्न र यात्रुलाई सुरक्षित तथा सहज यात्रा सुनिश्चित गर्न समितिले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

समितिले सडकमा हुने सम्भावित दुर्घटना तथा प्राकृतिक विपत्तिका घटनालाई ध्यानमा राख्दै जोखिमयुक्त स्थानको पहिचान गरी आवश्यक सुरक्षा तथा उद्धारको तयारी गर्न पनि निर्देशन दिएको छ । लामो दूरीका यात्रामा सवारीचालकलाई अनिवार्य विश्रामको व्यवस्था गर्न तथा चालकको स्वास्थ्य र सवारीसाधनको अवस्थासमेत जाँच गर्नुपर्नेमा समितिले जोड दिएको छ ।

चाडपर्वका समयमा राजमार्ग तथा मुख्य सडकमा हुने जाम व्यवस्थापनका लागि ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग तथा स्थानीय तहबीच समन्वय बढाउनुपर्ने समितिको भनाइ छ ।

समितिले यात्रुको गुनासो तत्काल सम्बोधन हुने गरी सहायता कक्ष तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यात्रु ठगिने, असुरक्षित रूपमा यात्रा गर्नुपर्ने तथा बाटोमै अलपत्र पर्ने अवस्था आउन नदिन पूर्वतयारी आवश्यक रहेको समितिले जनाएको छ ।

दसैँ, तिहार र छठका समयमा देशभर यात्रुको आवागमन अत्यधिक बढ्ने भएकाले सडक तथा यातायात व्यवस्थापनलाई नियमित अवस्थाभन्दा थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने समितिको निष्कर्ष छ । चाडपर्वमा नागरिकले सुरक्षित, सहज र भरपर्दो यातायात सेवा पाउने वातावरण बनाउन सबै सम्बन्धित निकायलाई जिम्मेवार भएर काम गर्न समितिले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार