कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन

750 Shares

कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव

काठमाडौँ । कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि १७ जना सांसदले ५९ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। संशोधन प्रस्तावमा मुख्यतः सञ्चयकर्ताको बचतको सुरक्षा, कोषको लगानी तथा सञ्चयकर्ताले पाउने सुविधासँग सम्बन्धित विषय उठाइएको छ। 

सरकारले कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न विधेयक प्रतिनिधिसभामा ल्याएको हो। विधेयकमा कोषको सञ्चालक समिति, प्रशासकको कार्यकाल तथा कोषले लगानी गर्न सक्ने क्षेत्रलगायतका विषयमा परिवर्तन प्रस्ताव गरिएको छ। 

प्रस्तावित व्यवस्थाअनुसार कोषको लगानीको दायरा विस्तार गर्ने, ऊर्जा, कृषि, पर्यटन, सञ्चार तथा सूचना प्रविधि र ठूला पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था राखिएको छ। त्यस्तै, पूँजी बजार तथा वित्तीय बजारमा कोषको रकम परिचालन गर्न सक्ने र म्युचुअल फन्ड, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फन्डमा लगानी गर्न सक्ने प्रस्ताव पनि विधेयकमा छ। 

विधेयकमा हाल पाँच वर्ष लगातार बचत गरेका सञ्चयकर्ताले आफ्नो बचतको ६० प्रतिशतसम्म रकम झिक्न पाउने व्यवस्थालाई हटाएर त्यसको सट्टा कोषबाट कर्जा लिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। यही विषयलाई लिएर पनि सांसदहरूले संशोधन प्रस्ताव अघि सारेका छन्। 

प्रतिनिधिसभामा विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरूले कर्मचारीको जीवनभरको बचतसँग जोडिएको कोष भएकाले दीर्घकालीन योजना, सुरक्षित पूँजी परिचालन र सञ्चयकर्ताको विश्वास कायम गर्ने विषयमा ध्यान दिनुपर्ने बताएका थिए।

संघीय संसद्को अभिलेखअनुसार कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ अर्थ मन्त्रालयबाट प्रतिनिधिसभामा दर्ता भएको हो र हाल सामान्य छलफलको चरणमा रहेको छ।

सम्बन्धित समाचार