बूढीगण्डकीमा बाढी : गोरखामा तीन पुल बगायो, दर्जनौँ घर जोखिममा

414 Shares

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा दुईवटा झोलुंगे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले घर तथा टहरामा समेत क्षति पुर्‍याएको छ भने दर्जनौँ घर जोखिममा परेका छन्।

प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले चुमनुब्री गाउँपालिका–३ को न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको हो।

बाढीले सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा पानी पसेको छ। त्यसैगरी, धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै सङ्ख्यामा रहेका टहरामा पानी पसेको छ।

धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत बाढीको जोखिममा परेका छन्। यस्तै, बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ।

तीनवटा पुल बगाउँदा सम्बन्धित क्षेत्रको आवागमन प्रभावित हुने देखिएको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार