बूढीगण्डकी बाढी : उद्धारका लागि हेलिकप्टर परिचालन, तटीय बस्तीका बासिन्दालाई सुरक्षित रहन आग्रह

477 Shares

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्न हेलिकप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुधन गुरुङले नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत बूढीगण्डकी नदी आसपासका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछिखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका हुन्।

उनका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको छ। घट्टेखोला क्षेत्रका केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको सूचनाप्रति पनि उनले ध्यानाकर्षण भएको बताएका छन्।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार तथा राहतमा परिचालन गरिएको गृहमन्त्रीले जानकारी दिएका छन्। प्रभावितलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टरसमेत परिचालन भइसकेको उनले बताएका छन्।

गृहमन्त्री गुरुङले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई धैर्य राख्न, सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। आपत्कालीन सहायता आवश्यक परे गृह मन्त्रालयमा सम्पर्क गर्नसमेत उनले अनुरोध गरेका छन्।

बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा घर तथा पुलमा क्षति पुर्‍याएको छ। नदीमा बाढी आउने र रोकिने क्रमसँगै थप जोखिम बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

सम्बन्धित समाचार