काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीको मुख्य कारण सुक्खा पहिरो खसेर नदीको बहाव थुनिनु रहेको प्रारम्भिक विवरणले देखाएको छ। नदी थुनिएपछि जमेको पानी एक्कासि बग्दा तटीय क्षेत्रमा बाढी आएको हो।
गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिम क्षेत्रमा पहिरोका कारण थुनिएको बूढीगण्डकी नदी आइतबार बिहान करिब ४ः३० बजे खुलेपछि लेदो र गेग्रानसहितको बाढी आएको नेपाली सेनाले जनाएको छ। घटनापछि सेनाले प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट खोज तथा उद्धार टोली परिचालन गरेको छ।
नेपाली सेनाका अनुसार प्रभावित क्षेत्रको अवस्था बुझ्न हेलिकप्टरसहितको टोली र पैदलमार्गबाट उद्धार टोली खटाइएको छ। बाढी तथा पहिरोको जोखिममा रहेको जगत् गाउँबाट छ जनालाई हवाई उद्धार गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीसमेत उद्धार तथा जोखिम न्यूनीकरणमा परिचालित भएका छन्।
बाढीले नदी आसपासका बस्ती, घर, झोलुङ्गे पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन्। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन गर्ने र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
बूढीगण्डकी नदीको बहाव त्रिशूली नदीमा मिसिने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। गोरखादेखि तनहुँ, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीसम्म नदी किनारमा बसोबास गर्ने नागरिकलाई जोखिमको अवस्था हेरी सुरक्षित स्थानमा जान र नदी आसपास आवतजावत नगर्न अनुरोध गरिएको छ।
प्रभावित क्षेत्रको वास्तविक क्षति तथा जोखिमको अवस्था यकिन गर्न सुरक्षाकर्मी र सम्बन्धित निकायले अनुगमन गरिरहेका छन्।