चन्द्र भण्डारी सर्वाधिक मतसहित उपसभापतिमा निर्वाचित, चौधरीले पनि जिते

638 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । खुलातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै उपसभापतिमा विजय हासिल गरेका छन् । मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

त्यस्तै, समावेशी उपसभापति पदमा विनोद चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका छन् । खुलातर्फ प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

समावेशी उपसभापति पदमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

यसअघि कांग्रेसको महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् । महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले अब पार्टीको नेतृत्व र संगठन सञ्चालनमा जिम्मेवारी सम्हाल्नेछन् ।

सम्बन्धित समाचार