प्रतिकूल मौसममा उडान सहज बनाउन पोखरा विमानस्थलमा आरएनपी–एआर प्रणाली ल्याइँदै

855 Shares

काठमाडौँ । प्रतिकूल मौसम र कम दृश्यताका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रक्रिया (आरएनपी–एआर) लागू गर्न आवश्यक प्राविधिक अध्ययन अघि बढाएको हो।

प्राधिकरणका अनुसार यससम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ। हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। तर, विमानस्थलको भौगोलिक अवस्था, आसपासका पहाडी भू–बनोट तथा प्राविधिक र सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम दृश्यता भएका बेला उडान सञ्चालनमा चुनौती उत्पन्न हुने गरेको छ।

यस समस्यालाई सम्बोधन गर्न प्राधिकरणले उपग्रहमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणालीको विकास र कार्यान्वयनलाई प्राथमिकता दिएको छ। सोही क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाइएको हो।

कम दृश्यतामा उडान सञ्चालन गर्न सहज हुने अपेक्षा

आरएनपी–एआर प्रणाली कार्यान्वयनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन तथा प्रचलित नियामकीय मापदण्डअनुसार आवश्यक स्वीकृति प्राप्त गर्नुपर्नेछ। यी प्रक्रिया पूरा भएपछि प्रणाली सञ्चालनमा ल्याउन सकिने प्राधिकरणले जनाएको छ।

नयाँ प्रणाली कार्यान्वयनमा आएपछि प्रतिकूल मौसमका कारण उडानलाई अन्य विमानस्थलमा मोड्नुपर्ने, अवतरण गर्न नसकी पुनः प्रयास गर्नुपर्ने तथा उडान रद्द गर्नुपर्ने अवस्थाहरूमा कमी आउने अपेक्षा गरिएको छ।

यसले यात्रुलाई थप नियमित, भरपर्दो र सुरक्षित हवाई सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी मौसमका कारण बारम्बार प्रभावित हुने पोखराको हवाई सेवामा सुधार ल्याउन यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।

हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढ्नु हवाई सेवालाई सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको बताएका छन्।

उनले प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या घटाउन यसले सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई मार्गनिर्देशन प्रणालीको विकास तथा कार्यान्वयनमार्फत हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउने प्रतिबद्धता जनाएको छ।

यद्यपि, आरएनपी–एआर प्रणाली लागू गर्न आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा हुन बाँकी रहेकाले यसको वास्तविक प्रभाव कार्यान्वयनपछि मात्र स्पष्ट हुनेछ।

सम्बन्धित समाचार