चौथो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रारम्भिक अनुमान

764 Shares

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ४ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा आधारभूत मूल्यमा मापन गरिएको आर्थिक वृद्धिदर उक्त स्तरमा रहने अनुमान गरिएको हो।

कार्यालयले अन्तर्राष्ट्रिय मुद्रा कोषको अरिमा विधि प्रयोग गरी तयार पारेको मौसमी प्रभाव समायोजित तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा जीडीपी १.५४ प्रतिशतले वृद्धि भएको देखाएको छ।

आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर स्थिर मूल्यमा तयार पारिएका राष्ट्रिय लेखाका अनुमानले अर्थतन्त्रका अधिकांश क्षेत्र सकारात्मक दिशामा अघि बढेको सङ्केत गरेका छन्। विद्युत् उत्पादन, प्रसारण तथा वितरण, बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन र ऋण प्रवाह, निर्जीवन बीमाको प्रिमियम सङ्कलन तथा आवास र भोजन सेवामा भएको विस्तारले आर्थिक वृद्धिमा योगदान पुर्‍याएको कार्यालयले जनाएको छ।

यद्यपि, सरकारी खर्चमा आएको कमी तथा औद्योगिक र कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण समग्र आर्थिक विस्तार अपेक्षाकृत सीमित रहेको देखिएको छ।

१८ मध्ये १७ क्षेत्रमा सकारात्मक वृद्धि

समीक्षा अवधिमा अध्ययन गरिएका १८ औद्योगिक वर्गीकरणमध्ये १७ क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने ऋणात्मक वृद्धि रेकर्ड भएको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा उच्च २४.३६ प्रतिशत वृद्धि भएको छ। वित्तीय तथा बीमा क्रियाकलापमा ९.०७ प्रतिशत, आवास तथा भोजन सेवामा ७.८४ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ७.६६ प्रतिशत वृद्धि भएको कार्यालयको अनुमान छ।

त्यस्तै, यातायात तथा भण्डारण क्षेत्रमा ६.८१ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवामा ५.५५ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.९७ प्रतिशत वृद्धि भएको छ। स्वास्थ्य तथा सामाजिक कार्यमा ४.७० प्रतिशत, अन्य सेवामा ३.८२ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रमा ३.३४ प्रतिशत वृद्धि देखिएको छ।

व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ३.१९ प्रतिशत, घरजग्गा कारोबारमा २.६८ प्रतिशत र निर्माण क्षेत्रमा २.३८ प्रतिशत वृद्धि भएको छ।

कृषि क्षेत्रको वृद्धि १.३५ प्रतिशतमा सीमित

नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान पुर्‍याउने कृषि, वन तथा मत्स्य क्षेत्रमा १.३५ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरिएको छ। कृषि तथा वन पैदावारमा भएको सामान्य वृद्धिले यस क्षेत्रको आर्थिक विस्तार सकारात्मक बनेको हो।

यसैगरी, औद्योगिक उत्पादनमा १.४४ प्रतिशत, खानेपानी, ढल तथा फोहोर व्यवस्थापनमा १.४३ प्रतिशत र शिक्षा क्षेत्रमा १.३२ प्रतिशत वृद्धि भएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने ०.१२ प्रतिशत ऋणात्मक वृद्धि देखिएको छ।

अघिल्लो त्रैमासिकको तुलनामा पनि अधिकांश क्षेत्रको विस्तार

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकको मौसमी प्रभाव समायोजित तथ्याङ्क हेर्दा पनि १७ वटा क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ।

यस अवधिमा आवास तथा भोजन सेवामा ६.०५ प्रतिशत, विद्युत् तथा ग्यास क्षेत्रमा ३.७६ प्रतिशत, खानी तथा उत्खननमा ३.२२ प्रतिशत, शिक्षा क्षेत्रमा ३.०७ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा २.९० प्रतिशत वृद्धि भएको छ।

त्यस्तै, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा २.२१ प्रतिशत, वित्तीय तथा बीमा क्रियाकलापमा २.१० प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रमा १.०८ प्रतिशत वृद्धि भएको छ।

तर, अघिल्लो त्रैमासिकको तुलनामा औद्योगिक उत्पादन क्षेत्रमा ०.४८ प्रतिशत ऋणात्मक परिवर्तन देखिएको छ।

समग्रमा, राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानले विद्युत्, वित्तीय सेवा, व्यापार, पर्यटनसम्बद्ध आवास तथा भोजन सेवाजस्ता क्षेत्रमा भएको विस्तारले अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाएको देखाएको छ। यद्यपि, कृषि तथा औद्योगिक उत्पादनको सीमित वृद्धि र सरकारी खर्चमा आएको कमी अर्थतन्त्रको विस्तारमा चुनौतीका रूपमा देखिएका छन्।

सम्बन्धित समाचार